पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएपछि संसद्‌मा रास्वपा नेताविहीन बनेको छ।

यसबीचमा संसद् त बसेन तर, अब भने चाँडै बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो माघ १८ गते सङ्घीय संसद्‌का दुबै सदनको अधिवेशन आह्वान गरेका छन्।

रास्वपालाई त्यसअघि नै नेता छानिसक्नुपर्ने दबाब छ। तर, यसबारे छलफल प्रारम्भ नभइसकेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बताइन्। नागरिकसँग उनले भनिन्, ‘अहिलेसम्म यसबारे छलफल नै प्रारम्भ भएको छैन। तर, चाँडै टुङ्ग्याउनुपर्छ भन्ने सोचेका छौँ।’

नेताका लागि रास्वपामा मुख्यत: चार सांसदहरूले आकाङ्क्षा व्यक्त गरेका छन्। हालका उपनेता विराजभक्त श्रेष्ठसहित कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठलगायतका सांसदले नेतामा आकाङ्क्षा राखेका छन्।

त्यसमा पनि मुख्यगरी दाबेदारीका रूपमा विराजभक्त श्रेष्ठ र स्वर्णिम वाग्लेलाई हेरिएको छ। पार्टीभित्र समानुपातिकलाई नेता नदिने भनेर कतिपय नेताहरूले बोलिरहेका छन्। यसो भन्नेबित्तिकै डोलप्रसाद अर्याल र सुमना श्रेष्ठ ‘आउट’ हुन्छन्।

विराजभक्त श्रेष्ठ (काठमाडौं) र स्वर्णिम वाग्ले (तनहुँ) भने निर्वाचित हुन्। यसमा पनि विराजभक्त श्रेष्ठलाई नै मुख्य दाबेदारका रूपमा हेरिएको छ। उनी अहिलेका उपनेता पनि हुन्। उनले आफूलाई नै नेता बनाइनुपर्ने लबिङ गरिरहेको बताइन्छ।

यता स्वर्णिम वाग्लेले भने आफूले नमाग्ने र पार्टीले दिए नाइँ नभन्ने नीति अख्तियार गरेका छन्। रवि लामिछानेले भने स्वर्णिम वाग्लेलाई दिन चाहेको भनेर चर्चा गरिन्छ। एक उपसभापति डोलप्रयाद अर्याललाई कार्यवाहक सभापति बनाउँदा अर्को उपसभापति स्वर्णिम वाग्लेलाई संसदीय दलको नेता दिन चाहेको बताइएको छ।

तर, उपनेता विराजभक्त श्रेष्ठले भने आफूले नछाड्ने बताएका छन्। कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी भने सहमतिमै नेता चुन्ने बताउँछन्। ‘हाम्रो पार्टीमा एकाधबाहेक सबै निर्णयहरू सर्वसम्मतिमै हुने गरेका छन्। संसदीय दलको नेतामा पनि सन्तुलन मिलाएर र सर्वसम्मतिबाटै निर्णय लिन्छौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0