११ माघ, काठमाडौं। महेन्द्रनगर-नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् ।
गृहजिल्ला कञ्चनपुरमा भएको कार्यक्रममा शुक्रबार बोल्ने क्रममा नेता साउदले कांग्रेसलाई ०७९ को चुनावबाट जनताले ‘म्यान्डेड’ दिइसके बताए ।
‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन। हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने ।’ तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैं कांग्रेसको खोजी गर्ने जिकिर गरे ।
जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट नडराएर आफ्नो काममा केन्द्रित हुन आवश्यक रहेको साउदको भनाइ थियो ।
‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौँ।’
उनले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणलका लागि जिम्मेवारीमा रहेकाहरू ध्यान दिनुपर्ने बताए ।