११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

शुक्रबारबाट काठमाडौंको धुम्बाराहीमा सुरु भएको बैठकको सुरुमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
उनले प्रतिवेदनमा मुलुक भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा भएको उल्लेख गरेका छन् ।

वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खतरा रहेको उनको प्रतिवेदनमा उल्लेख छ ।

साथै, उनले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा अनौठो अध्यास भइरहेको जिकिर गरेका छन् ।

उनले प्रतिवेदनमा कांग्रेस–एमाले बहुदलीय व्यवस्था मास्न र दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाएका छन् ।

अध्यक्ष लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा कटाक्ष गरेका छन् ।

‘आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन’ भन्दै उनलेसंगठन निर्माणलाई आफ्नो प्रतिवेदनमा जोड दिएका छन् ।

समान विचार भएका व्यक्ति, समूह र दलसंग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसँग सुझाव मागेका छन् ।

बैठकमा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन् । महामन्त्री डा. धवल शमशेर राणाले आन्दोलन सम्बन्धि कार्ययोजना पेश गरेका छन् ।
बैठक शनिबार सम्पन्न गर्ने कार्यसूची रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0