११ माघ, काठमाडौं । नेपाली कांग्रेसले ‘सुवर्ण शमसेर इकोनोमिक कन्क्लेभ’ गर्ने भएको छ । विसं २००८ सालमा अर्थमन्त्री बनेका कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरको नाममा इकोनोमिक कन्क्लेभ गर्न लागिएको हो । नेपालको पहिलो बजेट राणाले ल्याएका थिए ।
अर्थ संवादका लागि विदेशी व्यक्तिहरू समेत ल्याएर कांग्रेसले कार्यक्रम गर्न लागेको हो ।
फागुनको २६ र २७ मा गते सुवर्ण शमसेर इनोनोमिक कन्क्लेभ गर्न लागिएको महामन्त्री गगन थापाले जानकारी गराए । इकोनोमिक कन्क्लेभमा केही विदेशी वक्ताहरू समेत आउने थापाले जानकारी गराए ।
साथै, कांग्रेसले रोजगारीका सन्दर्भमा रहेर एकवर्षे बहस निरन्तर गर्ने भएको छ । माघको मसान्तबाट रोजगारी बहस चलाउने तयारी गरिएको महामन्त्री थापाले जानकारी गराए ।
उनले भने, ‘नेपालमा रोजगारी कहाँ छ? रोजगारीको अवस्था के छ भन्ने बारेमा एक वर्ष भरिमा बहस चलाउने गरी तयारी गर्दैछौं ।’
यही माघको माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप एण्ड एमइ समीट’ गर्न लागिएको छ । केन्द्रीय कार्यालय सानेपामा दुईदिने कार्यक्रम राखिएको छ । स्टार्ट अप र उद्यमशीलता प्रर्वद्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी गराइन् ।
थपलिया प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला विकास विभागले दुई दिने कार्यक्रम राखेको हो । थपलियाका अनुसार केन्द्रीय कार्यालयमा स्टलहरू राखेर प्रदर्शनी गरिने भएको छ ।
९ माघमा आर्थिक नीति तथा योजना विभागले ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक संवाद गोष्ठी राखेको थियो ।