१५ माघ, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् ।
अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो ।
प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अमेरिकी सहयोग ९० दिनका लागि रोक्ने निर्णयको प्रभाव त्यति ठूलो नपरे पनि मातृ शिशु सहयोग र आप्रवासी निकालासम्बन्धी विषयले नेपाललाई प्रभाव पर्ने बताए ।
अमेरिका र चीनको व्यापार युद्धको प्रभाव नेपालमा पनि पर्ने भएकाले परराष्ट्र नीतिमा नेपालले सन्तुलन कायम राख्ने गरी वर्तमान सरकारले काम गरिरहेको ज्ञवालीको भनाइ छ ।
फरक प्रसंगमा ज्ञवालीले सहकारी प्रकरणमा मुछिएका जो कोहीलाई पनि नछाडिने बताए । सहकारीमा सत्ता पक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो कोहीलाई पनि नछाड्ने उनको भनाइ छ । दोषीमा संंलग्न जो भएपनि कानुनी दायरामा ल्याएरै छाड्ने गरी सरकारले काम गरिरहेको बताए ।
वर्तमान सरकार देशमा चरम निराशालाई चिर्नका लागि र राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको बताए । उनले अस्थिरताको राजनीति गर्नेहरू छटपटाइ रहेको बताए ।
ज्ञवालीले अहिलेको सरकार प्रधानमन्त्रीको लिस्टमा नाम राख्नका लागि मात्रै नभएको बताउँदै काम गरेर देखाउनका लागि बनेको बताए ।
वर्तमान सरकार गठन भएपश्चात देशको आर्थिक अवस्था लयमा आएको उनको दाबी छ ।
उनले बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताए । धेरै भन्दा धेरै पार्टीहरूको संलग्नतामा संविधान संशोधन हुने उनको भनाइ छ ।
१० वर्षे संविधानको कार्यन्वयनको अवस्थामा आएका समस्यालाई समीक्षा गर्दै अगाडि बढ्ने ज्ञवालीले बताए ।