काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गरेका छन् ।

सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यहरूलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदहरूले पनि उठाउनु पर्नेमा जोड दिएको बताए ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरी दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताए ।

विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथाविरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको स्मरण गर्दै उनले कानुन निर्माणसँगै ती कानुनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0