काठमाडौँ । नेकपा एमाले सांसद तारा लामा तामाङले प्रतिपक्षी दलका सांसदले लेखा समिति सभापतिमाथि अन्य सांसदले गरेको टिप्पणीलाई लिएर अब बोले राम्रो हुँदैन भनेपछि सांसदहरूबिच चर्काचर्की भएको छ ।

मंगलबार बसेको लेखा समिति बैठकमा लामाले अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने तर बैठकमा सधैँ सभापतिलाई पेल्ने काम भएको भन्दै अबदेखि बोले राम्रो नहुने बताएका थिए । ‘सभापतिलाई सधैँ पेलेको छ । एजेन्डामा बहस हुँदैन । सधैँ अब देखि बोले राम्रो हुँदैन’, लामाले भनेका थिए ।

त्यसपछि प्रतिवादमा उत्रिए माओवादीका सांसद लेखनाथ दाहाल । दाहालले ‘के राम्रो हुँदैन ?’ भनेर प्रतिवाद गरे ।

‘के राम्रो हुँदैन भनेको ? कुस्ती खेल्न भनेको हो ? यो असंसदीय भाषा भयो , रेकर्डबाट हटाउनुहोस्’, दाहालको माग थियो ।

दाहाललाई लामाले पुन जवाफ दिए । ‘किन हटाउने ? बोल्छु त । मैले कसैलाई इङ्गित गरेको छ र ? आफै अनेक काम गरेर आउने’ लामाको भनाइ थियो ।

लामालाई योगेश भट्टराईले पनि साथ दिए – ‘के असंसदीय भयो ? के असंसदीय भयो ?’ ।

भट्टराईले यसो भनेपछि दाहालले भने, ‘ माननीयको शब्द असंसदीय भयो । हटाउनु पर्छ ।’

फेरि लामाले भने, ‘भाइरल हुन बोल्ने ? ल जाऊँ प्रचण्डजीकोमा जाऊँ डेलिगेसनमा । म आफै जान्छु । हिजो आफैले बनाएको एजेन्डामा बहस छैन, कराएको छ, सभापतिलाई प्रश्न उठाएको छ ।’

त्यसपछि माओवादी सांसद अमनलाल मोदीले सत्ताको धम्की दिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सत्ताको भन्दैमा धम्की दिने ? खोजेको हो भन्ने ? धम्की दिन मिल्छ ? कुस्ती खेल्न आउने ? असंसदीय रूपमा यस्तो कुरा बहुमतले पेल्न मिल्छ ? यस्तो कुरा किमार्थ स्वीकार गर्न सकिँदैन । संसद्मा लगाम लगाउन पाइँदैन ।’

कांग्रेस सांसद सञ्जय गौतमले संसद्को प्रभावकारितामाथि प्रश्न उठेको भन्दै समितिले दिएका निर्देशन अलपत्र परेकोबारे सरकारले ध्यान दिनुपर्ने जिकिर गरे ।

‘४ सयको सिमेन्ट ८ सय पुग्यो यसबारे समितिले निर्देशन दिन जरुरी छ,’ उनले भने । फरक प्रसङ्गमा उनले अध्यादेश आउनु स्वाभाविक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0