८ माघ, काठमाडौं । फोहोरको उठाउने कम्पनीको वैधानिकतालाई लिएर तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुँयालबीच विवाद भएको छ ।
उनीहरू दुवै नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
वडाध्यक्ष शम्भुप्रसाद फुँयालले फोहोर उठाउने कम्पनीको वैधानिकता खोज्दै फेसबुकमा स्टाटस लेखेपछि लिखित सवाल–जवाफ नै भएको हो । पुस २९ मा वडाध्यक्ष फुयाँलले तारकेश्वर नगरपालिकामा वार्षिक रुपमा जनताले फोहोरममैलाको नाममा वार्षिक ७ करोड बुझाउने लेखेका थिए ।
स्थानीय जनताले फोहोरबापत बुझाएको रकम कहाँ जाने यकिन नभएको फुँयालको भनाई थियो ।
सामाजिक सञ्जालमा फुँयालले स्थानीयले फोहोरको रकम ‘कसलाई बुझाउँछन् । थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप’ भनी लेखेपछि नगरप्रमुखले वडाध्यक्षलाई लिखित स्पष्टीकरण सोधेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार सार्वजनिक शिष्टाचार उल्लंघन गरेको जनाउँदै नगर प्रमुख महर्जनले सत्य तथ्य पेश गर्न तीन दिनको समय दिए ।
७ माघ (सोमबार ) वडाध्यक्ष फुँयालले नगरमा फोहोर उठाउने प्रक्रियामा वैधानिकताको प्रश्न फेरि उठाउँदै मेयर महर्जनलाई जवाफ दिएका छन् । फोहोर उठाउने कम्पनीले प्रति घर मासिक ३ सयका दरले शुल्क लिएपनि वैधानिकता भने नपाएको वडाध्यक्ष फुँयालको दाबी छ ।
‘नगरपालिकाबाट वैधानिक रुपमा अनुमति नलिएको विषयमा चासो राख्नु एक जनप्रतिनिधिको कर्तव्य र दायित्व होइन र?’, फुँयालले जवाफमा लेखेका छन् । सुशासन र पारदर्शीताको कुरा लेख्न–बोल्न नगरपालिककासँग स्वीकृति लिनुपर्ने हो ? भन्दै मेयर महर्जनलाई प्रश्न गरे ।
सार्वजनिक सरोकारको विषयमा बोलेकाले नीति नियमको बर्खिलाप नभएको फुँयालले जवाफ पठाएका छन् ।
कांग्रेसबाट निर्वाचित महर्जन नेता भीमसेन दास नजिक छन् भने वडाध्यक्ष फुँयाल काठमाडौं जिल्ला सभापति सबुज बानियाँ निकट हुन् ।