पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गण्डकी सरकारले प्राविधिक शिक्षालय निर्माण गर्न लागेको छ । कोइका र गण्डकी सरकारबीच शुक्रबार सहयोग सम्झौता भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाको लागि आर्थिक सहयोग गरेको जानकारी दिए । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपाल स्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कङ बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै कोइकाले यो परियोजनामा ९० लाख अमेरिकी डलर सहयोग गर्नेछ । परियोजना ५ वर्ष चल्ने सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।
‘परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको हो,’ उनले भने, ‘यस परियोजनाले निर्माण उद्योगको आवश्यकता पूरा गर्न र उनीहरूको रोजगारी बढाउन दक्ष जनशक्तिको विकास गरी नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।’ कोइकाले प्राविधिक संस्थान भवन निर्माण गरिदिन्छ ।
यस्तै, अल्पकालीन तालिम, संस्थानको सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजनाको विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्नेछ । हस्ताक्षरपछि मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे । उनले आयोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने दाबी गरे । परियोजनाका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने उनको प्रतिबद्धता छ ।
कोइकाका कन्ट्री डाइरेक्टर कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।@ratopati