११ माघ, चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरिन् । ताररहित महानगर बनाउने योजनाअनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताइन् । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको कामसक्ने उनले आग्रह गरिन् । काठमाडौँपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ ।
पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रूपमा विद्युत् पुर्याइएको छ । यस्ता १७ वटा फिडरमार्फत महानगरको छ लेन सडक र बाइपास रोड सडमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
@रासस