२३ कात्तिक, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका कारण ढुंगा हान्नेहरुको मनोबल बढेको आरोप लगाएका छन् ।

सरकारको अनुमति लिएर केबलकार बनाउने योजना अघि बढेका बेला शिलान्यास गर्न जाँदा प्रशासनले नै अवरोध गरेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भएको मादेनको जिकिर छ । ‘सरकारले अनुमति दिएर कम्पनीले कन्ट्याकवालालाई सम्झौता दिएर काम गर्नुस् भन्यो, शिलान्यास कार्यक्रम राखियो’, उनले अनलाइनखबरसँग भने, ‘तर, खन्ने बेला सीडीओले इन्स्पेक्टरलाई चाबी खोस्न लगाए, त्यसपछि ढुंगा हान्नेहरुको मनोबल बढ्यो ।’

पाथीभरा केबलकार कम्पनीले निर्माणको ठेक्का पाएपछि शुक्रबार दिउँसो सत्तारुढ नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए । तर, त्यहाँ पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने पक्षका मानिसहरु विरोध गर्न पुगेका थिए ।

‘एक्जाभेटरबाट भूगोल थोरै सम्याएर काफ्ले पाटीमा स्टेशन निर्माणका लागि उद्घाटन गर्न गएका थियौं, त्यो अघि बढाउने कुरामा मैले अन्तिममा सीडीओलाई १५÷१६ जनालाई नियन्त्रण लिनुपर्‍यो भनेर फोन पनि गरेँ’, उनले भने, ‘तर, उहाँले हुँदैन । मैले भोलि, पर्सी मोहाल बनाएर गरौं भन्नुभयो । मैले माहौल बनाउन खोजेको एक दुई तीन वर्ष नै भइसक्यो भन्ने जवाफ दिएको थिएँ ।’

यसको केही समयपछि सीडीओ शर्माको निर्देशनमा प्रहरी निरीक्षक विवेक बस्नेतले एक्जाभेटरको चाबी खासेको मेयर मादेनले बताए । प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि केहिबेर विवाद सामसुमजस्तो भयो । तर, निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो ।

‘निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपट्टिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भइहाल्यो,’ निरौलाले भने, ‘दुवै पक्षतर्फ घाइते भएका छन् ।’

सीडीओ भन्छन् : अप्रिय घटना हुन नदिन चाबी नियन्त्रणमा लियौं

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्माले भने तल्लो फेदीको परिस्थिति मूल्यांकन गरेर स्थिति थप विग्रिन नदिन चाबी लिइएको बताएका छन् ।

‘हिजो निर्माण पक्ष र विपक्षीलाई राखेर प्रशासन कार्यालयमा छलफल पनि गरेका थियौं, त्यतिबेला अहिले जति गर्ने भनेको थियो, त्यो गरेर मेसिन थन्काउने भनिएको थियो’, शर्माले भने, ‘उहाँहरुले पर्यटक प्रहरीको भवन शिलान्यास पनि गर्नुभयो । केबलकारको पनि शिलान्यास भयो । त्यसक्रममा अर्को पक्षबाट थप जटिलता हुने देखेर हामीले विवाद नबढोस् भनेर नियन्त्रणमा लिएको हो ।’

प्रशासनको उद्देश्य मुठभेड नहोस्, क्षतिको न्यूनिकरण होस् भन्ने मात्र रहेको अनलाइनखबरसँग टेलिफोनमा बताए । अहिले स्थिति नियन्त्रणमा भएपनि दुई पक्षका व्यक्तिहरु घटनास्थल वरिपरि नै रहेको उनले बताएका छन् ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।

पाथीभरा देवीको मन्दीर ताप्लेजुङमा ३ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0