१५ पुस, खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस१२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ ।

बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक-फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियुक्त उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

कक्षा-८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुस ८ गते युवकको घर पुर्‍याइएकी बालिकालाई पुस ९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिए ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मङ्सिर १४ र १५ गते जालपामा बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो । सोही कार्यक्रमको प्रभावस्वरुप जालपामा भएको बालविवाहसम्बन्धी सूचना प्रहरीलाई प्राप्त भएको जनाइएको छ ।

@रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0