१६ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश केन्द्रित र पहिचान पक्षधर साना राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरेको छ ।
विचार मिल्ने दलसँग एकता गर्ने र तत्काल एकता सम्भव नभएका राजनीतिक दलसँग सहकार्य गर्ने जसपा नेपाल प्रयासरत छ । त्यसको पहल गर्न उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तरपार्टी समन्वय समिति बनाइएको छ ।
अन्तरपार्टी समन्वय समितिका संयोजक यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग संवादमा छन् । हालै उनले हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालसँग संवाद गरेका छन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जसपा नेपालका उपाध्यक्ष यादवसँग वार्ता गरेका हुन् ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि छलफल भएको नेताहरू बताउँछन् ।
जनता प्रगतिशील पार्टीले पनि मधेश केन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । यो पार्टीको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य छन् ।
जसपाको अन्तरपार्टी समन्वय समितिका संयोजक राजकिशोर यादव, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीसहितका नेताहरू ।
जसपा नेपालका उपाध्यक्ष यादव विचार मिल्ने दलसँग एकता गर्ने र तत्काल एकता सम्भव नभएका राजनीतिक दलसँग सहकार्य गर्नेगरी गतिविधि गरिरहेको बताउँछन् ।
जसपा नेपाल हाल प्रतिनिधिसभामा ५ सिटसहितको दलको हैसियतमा छ । २०७९ सालको आमनिर्वाचनबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले प्रतिनिधिसभामा १२ सिटसहितको उपस्थिति जनाएको थियो । तर, अशोककुमार राईले ७ जना सांसद लिएर पार्टी फुटाएपछि कमजोर भएको हो ।
तर, फेरि शक्ति आर्जन गर्ने प्रयासमा उपेन्द्र यादव मधेश केन्द्रित दलहरूसँग एकताको प्रयासमा लागेका हुन् । यही योजनाअन्तर्गत उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अन्तरपार्टी समन्वय समिति नै बनाएर गतिविधि अगाडि बढाइएको हो ।