२२ पुस, काठमाडौं । सेयर बजारलाई लगानीभन्दा कारोबार गरी नाफा कमाउने प्लाटफर्मका रुपमा हेर्न थालिएको छ । यसलाई सीडीएस एण्ड क्लियरिङको तथ्यांकले पनि पुष्टि गर्छ ।
तथ्यांकअनुसार मंसिरमा संकलन भएको पूँजीगत लाभकरमध्ये दीर्घकालीन लगानीकर्ता (१ वर्षमाथि होल्ड गर्ने)ले ३१ करोड पूँजीगत लाभकर तिर्दा अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम समय सेयर होल्ड गर्ने)ले दोब्बर बढी ६४ करोड तिरेका छन् । मंसिरमा मात्रै नभई समग्रमा अल्पकालीन लगानीकर्ता अर्थात् कारोबारीले तिर्ने पूँजीगत लाभकर बढी छ ।
यसले पनि लगानीकर्ता अल्पकालीन कारोबारमै रमाउने गरेको देखिन्छ । त्यस्ता लोक्याप कम्पनी लगानीका लागि भने धराप बनेका छन् । त्यस्ता कम्पनीमा जुनसुकै बेला ‘पम्पिङ एन्ड डम्पिङ’ हुने भएकाले लगानीकर्ता फस्ने जोखिम छ ।
लोक्याप कम्पनी अधिकांशको वित्तीय स्थिति खराब छ । यस्ता कम्पनी कारोबारका लागि मात्रै उपयुक्त देखिन्छन् । कारोबार गर्न नजान्ने र लगानी गर्ने उद्देश्यले यस्ता कम्पनी खरिद गर्नु लगानी धरापमा पार्नु हो ।
‘लोक्याप कम्पनी बढ्दा जसरी बढेको हुन्छ, घट्दा पनि त्यहीं दरले घटेको हुन्छ, त्यसकारण यस्ता कम्पनी कारोबारका लागि उपयुक्त रहे पनि लगानी गर्नेका लागि उपयुक्त हुँदैन’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।
सेयर खरिद गर्नुअघि आफैलाई बुझ्नुपर्ने उनी बताउँछन् । ‘लगानीका लागि हो भने वित्तीय स्थिति मजबुत रहेका कम्पनीमै उपयुक्त हुन्छ’ उनले भने ‘एउटै सेक्टरमा पनि केही कम्पनी लगानीका लागि उपयुक्त देखिन्छन् भने केही कारोबारका लागि ।’ दोस्रो बजारमा छिर्ने बेला नै कारोबार वा लगानी भन्ने विषयमा लगानीकर्ता स्पष्ट हुनुपर्नेमा उनी जोड दिन्छन् ।
सूचीकृत अधिकांश लोक्याप कम्पनीले लगानीकर्तालाई राम्रो लाभांश दिन सकेका छैनन् र भविष्यमा पनि ती कम्पनीले लाभांश दिने संकेत देखाएका छैनन् ।
तर मूल्य उतारचढावमा भने तिनै लोक्याप कम्पनी चलायमान हुने गरेका छन् । मूल्य उतारचढावबाट नाफा कमाउनेका लागि लोक्याप कम्पनी आकर्षक बनिरहेको छ । खासगरी फाइनान्स, केही विकास बैंक, केही हाइड्रोपावर र माइक्रोफाइनान्स कम्पनीमा मूल्य उतारचढाव उच्च देखिन्छ ।
यस्ता कम्पनीमा केही लामो अवधिका लागि लगानी गर्नेहरु भने नराम्ररी फसेको उदाहरण पनि छ । त्यति मात्रै होइन, कारोबार गर्न नजान्नेहरू पनि फसेका छन् ।
वित्तीय स्थिति जतिसुकै खराब भए पनि लोक्याप कम्पनीको मूल्य बजार बढ्दा उच्च दरले बढ्ने गरेको छ । तर वित्तीय स्थिति मजबुतका बाबजुत हाई क्याप कम्पनीको मूल्य वृद्धि भने न्यून रहने गरेको छ ।
उदाहरणका लागि हेरौं : फाइनान्समा सबैभन्दा हाइक्याप रहेको कम्पनी मञ्जुश्री र त्योभन्दा कमजोर वित्तीय स्थिति तर लोक्यापको समृद्धि ।
वित्तीय स्थितिअनुसार पनि मञ्जुश्री सबैभन्दा अब्बल छ । पहिलो त्रैमासिक रिपोर्टअनुसार १७४ रुपैयाँ प्रतिसेयर नेटवर्थ तथा २७.८९ रुपैयाँ वार्षिक प्रतिसेयर आम्दानी रहेको यस कम्पनीको पछिल्लो ५२ साताको अधिकतम मूल्य ९१७ र न्यूनतम मूल्य ४८० रुपैयाँ छ । न्यूनतम र अधिकतमको मूल्यान्तर दोब्बरसम्म देखिन्छ । अहिले ६३५ हाराहारी छ ।
लाभांश क्षमता उच्च रहेको यो कम्पनीको मूल्य उतारचढाव भने अरुको तुलनामा न्यून छ । यो लगानीका लागि उपयुक्त देखिए पनि कारोबारीले रुचाउँदैनन् ।
तर उहीं सेक्टरको कमजोर वित्तीय स्थिति रहे पनि समृद्धि फाइनान्सलाई कारोबारीले रुचाउँदै आएका छन् । यसको प्रमुख कारण हो : लोक्याप । पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ जम्मा ५६ रुपैयाँ मात्रै छ ।
मूल्य उतारढावमा यो कम्पनीले सबल भनिएका कम्पनीलाई जित्ने गरेको छ । विगत ५२ सातालाई हेर्दा यो कम्पनीको अधिकतम मूल्य प्रतिकित्ता १११७ रुपैयाँ ९० पैसा र न्यूनतम २८८ रुपैयाँ छ । हाल ६ सय हाराहारीमा छ ।
५२ साताकै उच्च मूल्यमा खरिद गर्नेहरुको हाल मञ्जुश्रीमा नोक्सानी २९ प्रतिशत हाराहारीमा मात्रै छ भने समृद्धिमा ४६ प्रतिशत छ । मूल्यमा मात्रै होइन, मञ्जुश्रीले लाभांश दिने क्षमता राख्छ तर समृद्धिले अहिलेसम्म लाभांश दिन सकेको छैन भने आगामी वर्षका लागि पनि अनिश्चितता छ ।
अझ नेपाल फाइनान्सको मूल्य उच्चतमबाट आधाभन्दा धेरै घटिसकेको छ । यस्ता लोक्याप कम्पनीमा निश्चित नाफा आएपछि बाहिरिनुपर्छ वा घट्ने अवस्थामा स्टप लस गरिहाल्नुपर्छ । मूल्य घट्ने अवस्थामा पनि होल्ड गरिरहँदा भारी मात्रामा नोक्सानी ब्यहाेर्नुपर्छ ।
फाइनान्समा मात्रै होइन, हाइड्रोपावर, विकास बैंक, माइक्रोफाइनान्स, लगानी र अरु सेक्टरमा पनि हालत उस्तै छ । खराब वित्तीय स्थिति भएका लोक्याप कम्पनीले मूल्यका आधारमा हाईक्याप कम्पनीलाई जित्ने गरेका छन् ।
विकास बैंक सेक्टरमा एउटा उदाहरण हेरौं, सबैभन्दा हाइक्याप कम्पनी मुक्तिनाथ विकास बैंक र लोक्याप कम्पनी नारयणी डेभलपमेन्ट । हाइक्याप कम्पनी मुक्तिनाथ विकास बैंकको वित्तीय स्थिति नारायणीको तुलनामा राम्रो छ ।
पहिलो त्रैमासिक रिपोर्टअनुसार मुक्तिनाथको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १० पैसा तथा वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ छ । जबकि नारायणीको प्रतिसेयर नेटवर्थ जम्मा २३ रुपैयाँ ८८ पैसा छ, प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसा ऋणात्मक छ ।
विगत ५२ सातालाई हेर्दा मुक्तिनाथको मूल्य न्यूनतम ३३२ रुपैयाँ ४० पैसादेखि अधिकतम ४८२ रुपैयाँसम्म छ । तर लोक्याप नारायणीको सोही अवधिमा न्यूनतम ३७९ रुपेयाँ ९० पैसादेखि अधिकतम १४३३ रुपैयाँसम्म छ । अहिले पनि मुक्तिनाथको मूल्य ३७० हाराहारीमा हुँदा नारायणीको साढे ९ सय हाराहारीमा छ ।
हाइड्रोपावर कम्पनीमा पनि उस्तै चरम स्थिति छ । सबैभन्दा लोक्याप कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य प्रतिकित्ता २५ सय रुपैयाँ हाराहारीमा पुगेको छ ।
तर हाइक्यापका राम्रा कम्पनी माउन्टेन इनर्जी, चिलिमे, साहस ऊर्जाजस्ता कम्पनीको मूल्य साढे ४ सयदेखि ६ सयको बीचमा छ । यी हाइ क्याप कम्पनीले नियमित रुपमा लाभांश दिन सक्ने क्षमता राख्छन् । तर मूल्यमा भने कहिलै लाभांश दिन नसक्ने लोक्याप कम्पनीले जितिरहेका छन् ।