७ कात्तिक, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरुको आन्दोलन तीन दिनका लागि स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित भएको छलफलपछि अस्पताल प्रशासनलाई तीन दिन समय दिने निर्णय भएको आन्दोलनरत इन्टर्न डाक्टर हृदयराज संग्रौलाले बताए ।

एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग सात दिनदेखि डाक्टरहरु आन्दोलन जारी राखेका थिए । डाक्टरहरुले बुधबार अस्पतालमा ओपीडी सेवा ठप्प पार्ने निर्णय गरेका थिए । तर, अस्पताल प्रशासनले सुरक्षागार्डहरु परिचालन गरेर इन्टर्न डाक्टरहरुलाई गेटबाट भित्र प्रवेश गर्नै दिएनन् ।

दिउँसो प्रशासनमा दुई पक्षबीच छलफल भयो । डाक्टर संग्रौलाका अनुसार, शिक्षा मन्त्रालयले अतिरिक्त शूल्कमा ट्यूसन र होस्टल फिबाहेकको शूल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भनेको भएपनि त्यसलाई कार्यान्वयन नगरेकाले विरोध गरिएको हो ।

उनका अनुसार, सन् २०१८ को अक्टोबरमा भर्ना भएको ब्याचले २० भदौ २०८१ र ६ असोज २०८१ मा निवेदन दिँदा पनि अस्पतालले कुनै सुनुवाइ गरेन । प्रशासनले २ लाख रुपैयाँ दिने बताएको छ । तर, चिकित्सकहरुले मन्त्रालयको निर्णय अनुसार पाउनुपर्ने ४ लाख ९० हजार रुपैयाँ नै फिर्ता दिनुपर्ने माग गरिरहेका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0