१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई टिकेटिङको अधिकार बिक्री गरिएको थियो ।

माउन्ट एभरेस्ट इभेन्ट्सले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार लिएको थियो । नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको एन्फाको भनाइ छ ।

धेरै टिकट बिक्री गरेको विषयमा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्य तथ्य बुझ्ने कार्य भइरहेकाले कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन एन्फाले आग्रह गरेको हो ।

दशरथ रंगशालको दर्शक क्षमता १५ हजार भएपनि आइतबारको खेलमा क्षमता भन्दा बढी दर्शक उपस्थित थिए । खेलको म्याच रिपोर्ट अनुसार दशरथ रंगशालमा १८ हजार ९ जना दर्शक उपस्थित थिए ।

रंगशालमा नेपाल र भारतको खेल हेर्न भरिभराउ दर्शक उपस्थित थिए । सिट संख्या भन्दा धेरै दर्शक प्रवेश गरेपछि रंगशालमा दर्शकको हुल थियो र उठेर पनि खेल हेरेका थिए ।

त्यसपछि एन्फाले बुधबार हुने बंगलादेश र नेपालबीचको फाइनल खेलको लागि टिकट बिक्री स्थगित गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै एन्फाले यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुने पनि जनाएको छ ।

साफ च्यम्पियनसिपमा समूह चरणका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँको टिकटदर तोकिएको थियो भने नकआउट चरणका लागि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ मूल्य तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0