विराटनगर । नेकपा एमालेका युवा नेता तथा विराटनगरका निवर्तमान अध्यक्ष सागर थापामाथिको कारबाही फुकुवा भएको छ । नेकपा (एमाले) कोशी प्रदेश कार्यालयले गत असोज १० गते जारी गरेको अन्तर पार्टी निर्देशन–५ (अपानि) मा थापालाई सहरी विकास विभागको सचिवको जिम्मेवारी दिइएको छ ।

विराटनगरको पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट विवाद सुरु भएपछि थापालाई एमालेले कारबाही तथा निलम्बन गरेको थियो । विवाद बढ्दै जाँदा एमालेले विराटनगर महानगरको निर्वाचित कमिटीलाई हटाएर नयाँ पदाधिकारी चयन गरेको छ ।

अध्यक्ष सागर थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको र पार्टीको निर्णय पालना नगरेको आरोप लागेको थियो । उनलाई कारबाही र निलम्बन गरेपछि उनको राजनीतिक भविष्यप्रति विभिन्न टिका टिप्पणी भइरहेको थियो । तर, एमालेले अन्तिम चरणमा उनलाई जिम्मेवारी दिएको हो । उक्त विभागको प्रमुखमा सुनसरीका लोकेश निरौला रहेका छन् भने उपप्रमुखमा सुशीला पहाडी रहेकी छिन् ।

एमालेले जारी गरेको अपानिमा ३१ वटा विभागहरूलाई पूर्णता दिइएको छ । यस्तै एमालेले कोशी प्रदेश समितिमा २९ जनालाई प्रदेश कमिटीको सचिवालयमा नियुक्त गरेको छ । ४२ पृष्ठ लामो अपानिमा एमालेले १३ बुँदे आचारसंहिता पारित गरेको छ । एमालेले नरबहादुर गुरुङ, रोजिना पाण्डे, डिल्लीराम शर्मा अधिकारी, खेम नेपाली र श्रीप्रसाद मैनालीलाई प्रदेश कमिटीको रिक्त रहेको ५ सदस्य पदमा मनोनयन गरेको जनाएको छ ।

यस्तै १६ जनालाई प्रदेश समिति सदस्यमा मनोनीत गरेको छ भने विभिन्न पार्टीबाट समायोजनको प्रक्रियामा आएका १४ जनालाई पनि प्रदेश समितिमा मनोनीत गरेको छ । यस्तै कोशी प्रदेश कमिटीको सल्लाहकार परिषद‍्मा १३२ जना, ज्येष्ठ कम्युनिस्ट मञ्चमा ५९ जना मनोनीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0